सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय चाहियो: विशाल भण्डारी

काठमाडौं । नेपालका सबैभन्दा लोकप्रिय हास्य टेलिभिजन कार्यक्रमहरूमध्ये एक, कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियन्सका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले आफ्नो सामाजिक सञ्जालमार्फत गम्भीर अन्याय र आर्थिक शोषणको विषयमा आवाज उठाएका छन्।

भण्डारीका अनुसार, करिब १८/१९ महिनाअघि आफुलाई एनआरएन (NRN) दाबी गर्ने एक व्यक्तिले ३.५ करोड लगानी गरी Three Production Pvt. Ltd. मा ३० प्रतिशत सेयर खरिद गरेका थिए। मौखिक र लिखित सहमतिअनुसार ती लगानीकर्ताले २४ महिनासम्म लगानी ननिकाल्ने प्रतिबद्धता गरेका थिए, तर कमेडी च्याम्पियन सिजन ३ समाप्त भएपछि उनी सम्झौता विपरीत दबाब दिन थाले।

भण्डारीले लेखेका छन्, “राज्य प्रशासनमा रहेको ढोंगी पहुँचको दुरुपयोग गर्दै ती लगानीकर्ताले आफैँ संचालक रहेको कम्पनीको चेक लगेर मेरो विरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गरे। त्यसैको आधारमा दबाब दिँदै २ करोड ४० लाख असुले। हरेक कारोबार बैंकमार्फत भएको हुँदा मसँग सबै प्रमाण छन्।”

भण्डारीका अनुसार, ती लगानीकर्ताले आफूले लिएको रकमसम्बन्धी मिलापत्र गर्न नमानेपछि बाँकी सेयरधारकहरूले अदालतमा मुद्दा दर्ता गरेका छन्। हाल काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा ती मुद्दाहरू विचाराधीन छन्। भण्डारीले ती व्यक्तिविरुद्ध “अपराधिक लाभ” सम्बन्धी मुद्दा पनि दर्ता गरिसकेका छन्।

“उहाँको नियत कम्पनी कब्जा गर्ने, कार्यक्रम रोक्ने र अदालतको कमजोर पक्ष प्रयोग गरेर मलाई मानसिक र व्यावसायिक यातना दिने देखिएको छ,” भण्डारीले उल्लेख गरेका छन्।भण्डारीले यस अवस्थाले कार्यक्रमको सञ्चालनमा पनि बाधा पुर्‍याएको बताएका छन्। सिजन ३ को विजेतालाई पुरस्कारस्वरूप दिनुपर्ने गाडी अहिलेसम्म दिन नसकिएको, केही विभागका कर्मचारीको तलब समेत रोकिएको, र नियमित खर्च व्यवस्थापन गर्न समस्या भइरहेको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमार्फत पनि सहयोग मागेको तर त्यो जानकारी माथिसम्म पुगेन वा गम्भीर रूपमा लिइएन भन्ने आशंका व्यक्त गरेका छन्।

“कमेडी च्याम्पियन केवल एउटा कार्यक्रम मात्र होइन, यसले १००/११० जनाको दैनिकी चलाउने माध्यम हो,” भण्डारी लेख्छन्, “म बाहिर जान सक्छु, तर मेरो टिमको भविष्य के हुन्छ?”

अन्त्यमा उनले भनेका छन् “अब त अति भयो। सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो। हामी यहीँ बसेर दर्शक हसाउन चाहन्छौं।” भण्डारीले ती व्यक्तिको नाम र तस्बिर नखुलाउने निर्णय गरेका छन्, ताकि उनका परिवार लज्जित नहोस्। “दोषी उ मात्रै हो,” उनले लेखेका छन्। यस पोस्टमार्फत उनले न्यायप्रेमी दर्शक, सरकार र कानुनप्रति विश्वास कायम राख्दै सहयोगको अपिल गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज