कैलाली कारागार प्रकरणः कैदीको मृत्यु प्रकरणमा सई पक्राउ, अनुसन्धान तीव्र

कैलाली । कैलाली कारागारमा कैदीको मृत्यु भएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। बैंकिङ कसुरमा जेल चलान भएका डडेल्धुराका हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको घटनामा संलग्नताको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार पालीको मृत्युपछि परिवारजनले हत्या गरिएको आरोप लगाउँदै सई नाथविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। जाहेरीपछि उनलाई नियन्त्रणमा लिइएर अनुसन्धान अगाडि बढाइएको डिएसपी सिंहले बताए।

विशेष कुरा के हो भने सई नाथ स्वयंले बैंकिङ कसुरको आरोपमा पालीविरुद्ध जाहेरी दिएका थिए, जसकै आधारमा पाली असार १ गते जेल चलान भएका थिए। तर, एक दिनपछि नै उनको मृत्यु भएपछि घटना झनै शंकास्पद बन्दै गएको छ।

पालीको शरीरमा चोटपटक देखिएको दाबी गर्दै परिवारजनले मृत्यु अस्वाभाविक रहेको बताउँदै शव बुझ्न अस्वीकार गरेका छन्। घटनाको चर्को विरोध भएपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिमा प्रशासन, प्रहरी, अनुसन्धान विभाग र स्थानीय प्रतिनिधिहरू सम्मिलित छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र सत्यतथ्य प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

यता, मृतक पालीका आफन्त र स्थानीयवासीले डडेल्धुरामा बजार बन्द र सडक अवरोध गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनाले सुरक्षाप्रणालीप्रति प्रश्न उठाइरहेका बेला सम्पूर्ण ध्यान अब छानबिन समितिको प्रतिवेदनमा केन्द्रित भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज