काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उच्च अदालत पाटनले पदमै रही काम गर्न दिन आदेश दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले दिएको निलम्बन निर्णयविरुद्ध दायर रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै पाण्डेलाई निलम्बन नगर्न भनेको हो।
गत जेठ २० गते गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। सो निर्णयविरुद्ध पाण्डेले जेठ २८ गते उच्च अदालत पाटनमा उत्प्रेषणको रिट दायर गरेका थिए। अदालतले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम राहतस्वरूप निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, “महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग भए पनि त्यस्तो अवस्थामा सिधै निलम्बन गर्नु पर्ने अवस्था देखिएन।”
त्यसैगरी, अदालतले पाण्डेलाई सुविधा, सन्तुलन र निष्पक्षताका आधारमा जाँचबुझ समिति अघि बढाउने अवस्था देखिएको भन्दै अहिले नै निलम्बन गर्नु औचित्यपूर्ण नदेखिएको उल्लेख गरेको छ।
अब रिटको अन्तिम टुंगो नलाग्दासम्म पाण्डेले आफ्नो पदमा रहेर नियमित जिम्मेवारी निर्वाह गर्न पाउने भएका छन्।