६ करोडको अपचलन प्रकरण: मार्गदर्शन सहकारीका अर्का सदस्य रामहरि सिलवाल पनि पक्राउ

काठमाडौं । रुपन्देहीस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था सम्वन्धी ठगी प्रकरणमा थप एक अभियुक्त पक्राउ परेका छन्। करिब ६ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारीका सदस्य रामहरि सिलवाललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो।

चितवन स्थायी ठेगाना भएका सिलवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष निगरानीपछि नियन्त्रणमा लिएको हो। कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यका अनुसार सिलवाललाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाउने प्रक्रिया अघि बढाइएको छ।

सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रहेको मार्गदर्शन सहकारीले ५ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ। बचतकर्ताको रकम हिनामिना भएको उजुरीका आधारमा जिल्ला अदालत रुपन्देहीले २०८१ साल वैशाख २० गते अध्यक्षसहितका पदाधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि बुधबार मात्रै सो सहकारीका अध्यक्ष अशोक केसी पनि पक्राउ परिसकेका छन्। आर्थिक अनियमिततामा संलग्न भएको ठहर गर्दै प्रहरीले यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज