डीएसपीको गाडीले ठक्कर दिँदा चार प्रदेश सांसद घाइते

विराटनगर । कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला विराटनगर आउँदै गरेका चार प्रदेश सांसद सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा सांसदहरू सामान्य घाइते भएका छन्।

सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका बेला बैठकमा सहभागी हुन आउँदै गरेका पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल तथा मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ सवार गाडी मोरङको कानेपोखरीको जंगल खण्डमा दुर्घटनामा परेको हो।

घटनामा सांसद सवार गाडीको ठक्कर जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएको विपरीत दिशाबाट आइरहेको कारसँग भएको थियो।

सांसदहरू सवार गाडी सांसद मैया श्रेष्ठकै भएको र चालक भेषराज श्रेष्ठ पनि सामान्य घाइते भएका छन्। घाइते चारै जना सांसद र चालकलाई उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनामा डीएसपी खगेन्द्र खड्का पनि सामान्य घाइते भएका छन्। दुवै सवारी साधनमा सवार व्यक्तिहरूको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज