किशोरीलाई प्रलोभन देखाई डिम्ब बेचबिखन प्रकरणमा डा. स्वस्तिसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब निकाल्ने कार्यमा संलग्न आरोपमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित पाँचजनामाथि बालबालिका ऐन २०७५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई किशोरीको डिम्ब कारोबारमा संलग्न भएको अभियोगमा कानुनी कारबाही अघि बढाइएको हो।

उनीहरूलाई १० हजार रुपैयाँ प्रलोभनमा पारी डिम्ब निकालिएको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। पीडित किशोरीहरूमा महिनावारी नहुने र पेट दुख्नेजस्ता स्वास्थ्य समस्या देखिएपछि घटना सार्वजनिक भएको हो। अनुसन्धानमा किशोरीहरूलाई एजेन्टमार्फत क्लिनिक पुर्‍याइएको, दिनहुँ इन्जेक्सन लगाइएको र शल्यक्रियाबाट डिम्ब निकालिएको पाइएको छ।

सीआईबीले सबै आईभीएफ क्लिनिकहरूको निगरानी थालेको छ भने डिम्ब उपलब्ध गराउने एजेन्टका रूपमा जस्टिना प्रधानले काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्वास्थ्य मन्त्रालयले घटनापछि डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालयले डिम्बदान सम्बन्धी कानुनी स्पष्टता आवश्यक रहेको भन्दै नीति निर्माणतर्फ संकेत गरेको छ।

विशेषज्ञहरूका अनुसार, नेपालमा डिम्ब किनबेच गैरकानुनी भए पनि नियमनको अभावले किशोरीहरूको स्वास्थ्य र भविष्य जोखिममा परेको छ।

सम्बन्धित सबैविरुद्ध अनुसन्धानका लागि अदालतबाट म्याद ताेकेको भए पनि हाल उनीहरू हाजिरी जमानीमा रिहा छन्।

सम्बन्धित समाचार

ताजा न्यूज