काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा उर्फ अहिराजलाई बालिकामाथि यौन शोषणको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार झालाई आइतबार बिहान भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनीविरुद्ध गत माघ ३ गते काठमाडौं जिल्ला प्रहरी परिसरमा बालिका बलात्कारसम्बन्धी उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएलगत्तै उनी भारततर्फ भागेका थिए। केही हप्तायता उनी काठमाडौंमै लुकेको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र बनाएको थियो।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउलगत्तै झालाई आजै अदालतमा पेस गरिएको थियो र अदालतले पाँच दिनको म्याद थप गरेको छ।
जाहेरीअनुसार, झाले एक मधेसीमूलकी किशोरीलाई १७ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका थिए। ती किशोरीलाई उनी काठमाडौं ल्याएर घरायसी काम गराउँदै पढाइको जिम्मा लिएका थिए। विभिन्न प्रलोभन देखाएर पटक–पटक यौन सम्पर्क गरेको पीडितको भनाइ छ।
पीडितले उजुरी दिएकै कारण सञ्चारमाध्यममा विषय बाहिरिएपछि आफूले निरन्तर धम्की र मानसिक दवाव सहनु परेको दाबी गरेकी छन्। जिल्ला अदालतले गत चैत २५ गते झालाई पक्राउ गर्न अनुमति दिएको थियो।
राजेश झा २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेशको प्रमुख पदमा रहेक थिए।